Logo
धर्मो रक्षति रक्षितः

श्रावण, भाद्र र आश्विन महिना: डेंगी सचेतना महिना

श्रावण, भाद्र र आश्विन महिना: डेंगी सचेतना महिना
Campaign
All
Shisir Kumar Adhikari 1 694 12 Download (2 MB)

श्रावण, भाद्र र आश्विन महिना: डेंगी सचेतना महिना

डेंगीको परिचय

  • डेंगी एक भाइरल रोग हो, जुन डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टे (विशेषगरी Aedes aegypti र Aedes albopictus) को टोकाइबाट सर्छ ।
  • एडिज लामखुट्टेले डेंगीसँगै चिकुनगुनिया, जिका र पहेँलो ज्वरोजस्ता अन्य भाइरल रोगहरू पनि सार्दछ ।
  • डेंगी रोग सङ्गै बस्दा, कुरा गर्दा वा सुत्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यो संक्रमित एडीज जातको पोथी लामखुट्टेले टोकेको अवस्थामा मात्र सर्छ ।
  • अधिकांश अवस्थामा डेंगीमा सामान्य लक्षणहरू मात्र देखिन्छन् । तर, करिव पाँच प्रतिशत संक्रमितहरूमा जटिल प्रकृतिका लक्षणहरु देखा पर्न सक्छन्, जसको समयमै पहिचान र व्यवस्थापन नगरेमा ज्यानसमेत जोखिममा पर्न सक्छ ।
  • डेंगी भाइरसका चारवटा स्वरूप (सेरोटाईप) हरू हुन्छन् । यी मध्ये जुनसुकै सेरोटाईपबाट पनि संक्रमण हुन सक्छ । एउटा सेरोटाइपबाट संक्रमण भएपश्चात जीवनभर शरीरले उक्त सेरोटाइप बिरुद्धमा प्रतिरक्षात्मक क्षमता विकास गर्छ, तर, अन्य सेरोटाइपको संक्रमण भयो भने गम्भीर डेंगी हुने जोखिम बढ्न सक्छ ।
  • डेंगी रोग सामान्यतः नेपालजस्ता उच्च तापमान तथा आर्द्रता युक्त भौगोलिक क्षेत्रहरूमा देखिन्छ, र विशेषगरी मनसुन तथा त्यसपछिको अवधिमा यसको संक्रमण दर उल्लेखनीय रूपमा बढ्ने गर्दछ ।

डेंगी सार्ने लामखुट्टेको आनीबानी

  • अक्सर घरभित्र पाइने: एडिज लामखुट्टे प्रायः घरभित्रका अँध्यारो र चिसो स्थानहरु-जस्तै ओछ्यानमुनी, पर्दा पछाडी, दराजको कुना वा बाथरुममा लुकेर रहने गर्छन् । घरबाहिर पनि चिसो र छायाँयुक्त स्थानहरुमा पाईने गर्छन् ।
  • शहरी क्षेत्रमा बढी पाइनेः घना जनसंख्या र जति घरहरु नजिक नजिक हुन्छन्, त्यति नै छिटो फैलिन्छ । धेरै प्रजनन् स्थल भएका ठाउँमा संक्रमण फैलावट तीब्र हन्छ ।
  • टाढासम्म उड्न नसक्नेः उडान दूरी सामान्यतया ४०० मिटरभन्दा कम हुने भएकोले तिनीहरु प्रजनन् स्थल वरपरको क्षेत्रमा सीमित रहन्छन् ।
  • जमेको सफा पानीमा अण्डा पार्ने र वृद्धिविकास गर्नेः थोरै मात्रामा जमेको पानीमा पनि अण्डा पार्न सक्छन्- केवल ५ मिलिलिटर (बोतलको बिर्को बराबर) जमेको पानी पनि प्रजनन्‌का लागि पर्याप्त हुन्छ ।
  • वृद्धि-विकास घर वरिपरिका जुनसुकै स्थानमा हुन सक्छ: ठूलो ट्यांकीदेखि साना कन्टेनर बट्टाबट्टीहरुसम्मका विभिन्न स्थानहरुमा वृद्धि-विकास गर्न सक्छन् । यस्ता संरचनाहरु लामखुट्टेको फैलावट र प्रकोपका सम्भावित केन्द्रबिन्दु (हटस्पट) बन्न सक्छन् ।
  • सुक्खा अवस्थामा पनि अण्डा महिनौंसम्म बाँच्न सक्छः पानी प्राप्त गरेपछि जीवनचक्र पुनः सुचारु हुन्छ ।
  • दिनको समयमा सक्रियः बिहान र बेलुका बढी सक्रिय हुन्छन् र दिनमा टोक्छन् ।
  • शान्त प्रकृतिका र टोक्दा कम दुख्छ: गुन्गुनाहट कम गर्छन् र टोक्दा खासै दुख्दैन, जसले गर्दा सजिलै टोकाइ महसुस हुँदैन ।
  • आक्रामक र बारम्बार टोक्ने बानी: रगत चुस्ने क्रममा एडिज लामखुट्टेले एउटै
  • व्यक्तिलाई पटक-पटक वा वरपरका अन्य व्यक्तिहरुलाई पनि टोक्न सक्छ, जसले संक्रमण सजिलै फैलिन मद्दत गर्छ ।
  • छोटो र छिटो: सानो आकारको र छिटो उड्ने भएकाले सजिलै देखिदैन ।
  • आयु र वृद्धि : एडिज लामखुट्टेको औसत आयु करिब ३० दिनको हुन्छ । अनुकूल तापक्रम र वातावरणमा, अण्डाबाट वयस्क बन्न सामान्यतः ७ देखि १० दिन लाग्छ ।

डेंगी सार्ने लामखुट्टेको छरीतो र छिटो उड्ने स्वभावका कारण टोकाइबाट बच्न गाह्रो हुन्छ । लामखुट्टेको बासस्थान (प्रजनन् स्थल) नष्ट गरी लामखुट्टे हुर्कनै नदिनु नै सबैभन्दा प्रभावकारी सुरक्षाको उपाय हो ।


राष्ट्रिय अभियान किन?
अन्तराष्ट्रिय अभ्यासहरू

  • संयुक्त राष्ट्रसंघले औपचारिक रूपमा डेंगी सचेतना दिवस वा महिना घोषणा नगरेको भए पनि विभिन्न मुलुकले आफ्ना सन्दर्भ र आवश्यकताअनुसार डेंगी सम्बन्धी जनचेतनाका विविध अभियानहरू सञ्चालन गर्दै आएका छन्।
  • छिमेकी मुलुक भारतमाः प्रत्येक बर्षको मे १६ मा राष्ट्रिय डेंगी दिवस
  • ASEAN मुलुकहरु (थाइल्याण्ड इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स, सिंगापुर, ब्रुनाई, कम्बोडिया, भियतनाम) मा प्रत्येक बर्षको जुन १५ मा डेंगी दिवस
  • ब्राजिलमाः सन् २०२४ को मार्चमा "Brazil United against Dengue" भन्ने नाराका साथ D-Day अभियान
  • उत्तरी तथा दक्षिणी अमेरिकाका बिभिन्न देशहरुमा अप्रिल, मे वा जुन महिनामा लामखुट्टे नियन्त्रण सचेतना सप्ताह

खोज र नष्ट कति कति समयमा गर्नुपर्दछ ?

  • डेंगीका विरामीहरू वर्षभरि नै प्रतिवेदन भईरहेको हुँदा खोज र नष्ट अभियानलाई नियमित रुपमा गर्नुपर्छ।
  • श्रावण देखि कार्तिक महिना सम्म एडिस लामखुट्टेको प्रजननको जोखिम बढी हुने भएकाले यी महिनाहरुमा थप सचेत भई कम्तीमा हप्ताको एकपटक यस्ता गतिविधि अनिवार्य सञ्चालन गर्नुपर्छ ।
  • यो अभियान एकपटक मात्र होईन लगातार र नियमित गर्नुपर्छ ।

डेंगी सचेतना महिनाका उदेश्यहरू

  • डेंगी रोकथामको सन्दर्भमा देशव्यापी रूपमा समुदायस्तरमा व्यापक जनचेतना अभिवृद्धि गरि र डेंगी सम्बन्धी विद्यमान भ्रम तथा गलत धारणाहरूलाई हटाउनु ।
  • लामखुट्टे प्रजनन स्थलहरूको पहिचान र नियन्त्रणका प्रभावकारी अभ्यासहरूलाई व्यवहारमा उतार्न नागरिक तथा समुदायको सक्रिय सहभागिता प्रवर्द्धन गर्नु ।
  • समाजका सबै तहको सहभागिता सुनिश्चित गर्दै, बहुक्षेत्रीय सहकार्य तथा समन्वयलाई प्रवर्द्धन गर्नु र डेंगी रोकथामलाई बृहत, समन्वित र प्रभावकारी बनाउनु ।
  • स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधनहरूको पूर्वतयारीलाई प्रोत्साहित गर्नु।
  • डेंगी नियन्त्रणका लागि जिम्मेवार निकाय हरूको सक्रिय संलग्नता र उत्तरदायित्व सुनिश्चित गर्नु।

डेंगी सचेतना महिनामा गरिने क्रियाकलापहरूः

  • "हरेक शुक्रबार सफा शुक्रबार" अभियान मार्फत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा संगठित संस्थाहरूमा सरसफाई तथा लामखुट्टे प्रजनन स्थलहरूको खोजी र नष्ट गर्ने कार्य गर्ने/गराउने ।
  • स्थानीयतहहरुले टोल विकास समितिहरु, नागरिक समाज तथा अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गरी "हप्ताको एक दिन, एक घण्टा हुदैन कुनै कष्ट, समुदायको सहभागितामा लामखुट्टेको लार्भा नष्ट” भन्ने नाराका साथ खोज तथा नष्ट अभियान संचालन ।
  • डेंगी नियन्त्रणका रणनीति र समुदायस्तरमा गर्नुपर्ने गतिविधिबारे संघ, प्रदेश, तथा स्थानीय तहहरूमा छलफल तथा पैरवी ।
  • हरेक वार्डमा घरदैलो, समूह छलफल, पोस्टर/ब्यानर वितरण लगायत माध्यमद्वारा डेंगीको जोखिम, लक्षण र रोकथामबारे जनचेतना फैलाउने ।
  • खोज तथा नष्ट बिधि लगायत अन्य डेंगी सम्बन्धी स्वास्थ्य शिक्षा तथा सुचना सामग्रीहरू उत्पादन, वितरण तथा प्रचार-प्रसार गर्ने।
  • राष्ट्रिय स्वास्थ्य शिक्षा तथा संचार केन्द्र मार्फत मार्फत विभिन्न स्थानीय भाषामा तयार पारिएका रेडियो जिङ्गलहरू देशभरका एफएम सञ्जालहरूमार्फत प्रसारण गर्ने ।
  • मोबाइल रिङ्गटोनमार्फत डेंगी जोखिमसम्बन्धी सूचना नागरिकहरूसम्म पुऱ्याउने ।
  • संघीय तहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा संचार केन्द्र (NHEICC) र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD), साथै प्रदेश तथा स्थानीय तहका आधिकारिक सामाजिक सञ्जालबाट दैनिक रूपमा जोखिम संचार सामग्री प्रकाशन गर्ने ।
  • विद्यालयस्तरमा डेंगीसम्बन्धी व्यवहार परिवर्तन ल्याउने उद्देश्यले विद्यालय स्वास्थ्य दूत मार्फत- साथी शिक्षा, विद्यालय-घर सन्देश प्रवाह, बक्तृत्वकला, निवन्ध तथा वादविवाद प्रतियोगिता जस्ता क्रियाकलापहरु संचालन गर्ने ।
  • स्थानीय तहको सहजीकरणमा विद्यालयमा विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित सरसफाइको अनुगमन गर्ने/गराउने ।
  • बहु-निकाय सहकार्य सुनिश्चित गर्न सम्बन्धित सरोकारवाला तथा तिनका सञ्जालसँग नियमित अन्तरक्रिया गरी परिचालन गर्न पैरवी गर्ने।
  • आ-आफ्नो क्षेत्रमा अटोवर्कशप तथा कवाडी सामान व्यवस्थापन गर्ने स्थलहरुमा निरन्तर निगरानी गर्ने, सरोकारवालाहरु संग छलफल गर्ने।
  • होटल, उद्योग तथा निजी व्यवसायीका छाता संगठनहरूसँग सहकार्य गरी तिनीहरूका सदस्य संस्थाहरूलाई डेंगीसम्बन्धी जनचेतना प्रचार प्रसारमा संलग्न गराउन सहकार्य गर्ने ।
  • युवा क्लब, स्वयंसेवक तथा विश्वविद्यालयस्तरका विद्यार्थी सञ्जाललाई "खोज तथा नष्ट" अभियानसहित डेंगी नियन्त्रणका गतिविधिमा परिचालन गर्ने ।
  • डेंगी सम्बन्धी जनचेतना अभिवृद्धि र नियन्त्रणमा योगदान पुऱ्याउने सृजनात्मक कार्यहरू संचालन गर्ने ।

यो रोगबाट बच्ने उपायहरु :

  • डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने भएकोले यसको टोकाइबाट बच्नको लागि, पुरा शरीर छोपिने लुगा लगाउने र दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्नु पर्दछ । हात खुट्टामा लामखुट्टे भगाउने क्रिम लगाउनाले पनि लामखुट्टेको टोकाईबाट वच्न सकिन्छ,
  • डेंगु सार्ने एडिज् लामखुट्टेले मानिसको वस्ती वरिपरि प्राकृतिक वा कृत्रिम रुपले जमेको पानी जस्तै मर्मत गर्न राखेका वा फँयाकेका टायरहरु, बाटा, बाल्टीन, प्लेट सहितको गमला, एयर कन्डीसनर, लोटा, गिलास, कतारो, खुल्ला वोतलहरु, थोरै भन्दा थोरै पनि पानी जम्ने भाँडाहरु (जस्तै सिसिको विर्को), खुल्ला पानीको ट्याङ्की वा खुल्ला पानीका भाँडाहरुमा फूल पारी वृद्धि विकास गर्ने भएकोले आँफैले लामखुट्टेका यस्ता वासस्थान खोजि तथा लार्भा नष्ट गर्नु पर्दछ,
  • डेंगु ज्वरोको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त संपर्क गर्नुपर्दछ । यो रोग चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा उपचार गरे निको हुन्छ ।

स्रोतः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय